प्रहरीले रौतहटबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, सन्तपुर निवासी ३५ वर्षीय गोविन्दा दास रहेका छन् । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी चौकी मोतिपुर र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट -बीओपी) सरमुजवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा निगरानी तथा चेकजाँच गर्ने क्रममा दासलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रण गर्ने क्रममा अबैध कटुवा पेस्तोल सहित उनी पक्राउ परेका हुन । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ । प्रहरीले बरामद हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


