मधेशी गठबन्धनमा पनि टिकट बाँडफाँटमा सकस, गुहारियो शीर्ष नेता /* - - - Script for Auto Navigation - - - */

मधेशी गठबन्धनमा पनि टिकट बाँडफाँटमा सकस, गुहारियो शीर्ष नेता

काठमाडौं, कार्तिक १३


मधेस केन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच प्रतिनिधि र प्रदेश सभाको सिट बाँडफाँट टुंगिएपनि कुन निर्वाचन क्षेत्र कसले पाउने भन्ने विषयमा सहमति जुटाउन कठिन भएको छ। फोरमले सप्तरी २ अध्यक्ष उपेन्द्र यादवका लागि छोडिदिन आग्रह गरिरहेको छ। तर राजविराज नगरपालिका लगायतमा विजय हासिल गरेको राजपा यादवका लागि त्यो क्षेत्र छोड्न तयार छैन।



समग्र सप्तरीमा राजपा र संघीय समाजवादीको मत उस्तै उस्तै छ। यसै आधारमा फोरम भने सप्तरीका सिट वरावरी रुपमा बाँडफाँट गर्नुपर्ने माग गरिरहेको छ। तर, राजपा सप्तरीमा फोरमलाई एक सिटभन्दा बढी दिन तयार छैन।

बारा, पर्सा, सिराहा र धनुषामा संघीय समाजवादी फोरम नेपालले स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा चुनाव जितेको छ । फोरमले धेरै सिट जितेका यी जिल्लामा वरावरी पाउनुपर्ने राजपाको दावीले फोरमलाई अप्ठेरोमा पारेको छ।

सर्लाही, महोत्तरी र रौतहटमा राजपाले स्थानीय तहमा केही बढी सिट जितेको छ। यहाँ फोरमले बढि सिटको माग गरिदिँदा राजपा अप्ठेरोमा छ।

नेताहरुको व्यवस्थापनको विषय मधेश गठबन्धनका लागि अप्ठेरोको अर्काे कारण हो।

जस्तो, यसअघि मोरङ र सुनसरीबाट चुनाव लड्दै आएका फोरम अध्यक्ष उपेन्द यादव यस पटक सप्तरी २ बाट प्रतिस्पर्धा गर्न चाहेका छन्।

सर्लाहीबाट चुनाव लड्दै आएका राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर यस पटक सुरक्षित स्थान खोज्दै महोत्तरी २ बाट चुनाव लड्ने तयारीमा छन्।

यसैगरी महोत्तरी ३ बाट राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी निर्वाचन लड्ने तयारीमा छन्।

भण्डारीको गृह जिल्ला महोत्तरी ४ बाट अघिल्लो संविधान सभा निर्वाचनमा संघीय समाजवादी विजयी भएको थियो। त्यो क्षेत्रमा अहिले राजपाले दाबी गरेको छ। तर, फोरम उक्त क्षेत्र छोड्न तयार छैन।

प्रदेश २ अन्तर्गत प्रतिनिधि सभाका ३२ सिटमध्ये राजपाले १५ र फोरमले १७ सिट लिने सहमति छ। यसगरी प्रदेश सभाका ६४ मध्ये राजपाले ३१ र फोरम नेपालले ३३ सिट पाउने गरी बाँडफाँट भइसकेको छ।

दुई दलले पाउने सिटसंख्या टुंगिएपनि कुन निर्वाचन क्षेत्र कसले पाउने भन्ने विषयमा सहमति जुटाउन कठिन भएपछि यस सम्बन्धी निर्णय दुवै पार्टीको शीर्ष नेतृत्वले गर्नुपर्ने सम्भावना बढेको छ।

राजपा नेपालका महासचिव मनिष सुमनले सोमबार साँझसम्ममा निर्वाचन क्षेत्र बाँडफाँट पनि टुंगो लाग्ने दावी गरे। सुमनले भने, ‘कार्यदलस्तरमा सहमति नभए शीर्ष नेतृत्वले टुंगो लगाइनेछ।’

यस्तै समस्या एमाले र माओवादी केन्द्रमा पनि देखिएको छ। एउटै जिल्लाका निर्वाचन क्षेत्रमा एमाले–माओवादी केन्द्रले समान दावी गर्दा उनीहरुले पनि निर्वाचन क्षेत्र बाँडफाँटलाई अन्तिम रुप दिन सकेका छैनन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108399 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top