भट्टराईले गोरखा २ नै पाए, कांग्रेस र नयाँ शक्तिबीच तालमेल /* - - - Script for Auto Navigation - - - */

भट्टराईले गोरखा २ नै पाए, कांग्रेस र नयाँ शक्तिबीच तालमेल

गोरखा, कार्तिक ४


नेपाली कांग्रेसले अन्ततः नयाँ शक्ति पार्टीसँग तालमेल गर्दै गोरखा २ बाट बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएको छ। गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको कांग्रेस उच्च स्रोतले जनायो। तर भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो लागेको छैन।

गोरखा २ मा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका भट्टराई र एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठबीच आउँदो मंसीर १० गते चुनावी प्रतिस्पर्धा हुनेछ।

कांग्रेसको शुक्रबार बेलुकी बसेको बैठकले गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठलाई टिकट दिएको छ। कांग्रेस उमेद्वारलाई क्षेत्र नंं १ मा नयाँ शक्तिले सघाउने छ।

यस्तै गोरखा १ को क प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले धिरन थापालाई टिकट दिएको छ। प्रदेश ख मा राजेन्द्र बजगार्इँले टिकट पाएका छन्।

यस्तै प्रदेश क र ख मा कसलाई टिकट दिने आज टुंगो लाग्नेछ। नयाँ शक्तिले प्रदेश क मागेको छ भने कांग्रेस दुवै प्रदेश आफूले पाउनुपर्ने दावी गर्दै आएको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नयाँ शक्तिका संयोजक भट्टराईबीच शनिबार दिउँसो बस्ने बैठकले साझा उमेद्वार तय गर्ने जनाइएको छ।

साथै वाम गठबन्धनमा सहभागी एमालेलाई गोरखामा एउटा प्रदेश दिएर अरु माओवादीले राखेको छ। क्षेत्र १ को ख प्रदेशमा एमालेका तर्फबाट केन्द्रिय सदस्य रामशरण बस्नेत चुनावी मैदानमा छन्। गठबन्धनबाट गोरखा १ मा माओबादीका हरि अधिकारीले टिकट पाए भने प्रदेश क मा लेखबहादुर थापाले टिकट पाएको माओवादीले जनाएको छ।

वाम गठबन्धनबाट गोरखा २ प्रतिनिधसभामा नारायणकाजी श्रेष्ठले टिकट पाएका छन्। यस्तै प्रदेश क मा कमला नहर्की र ख मा अमर तमुले टिकट पाए। गठबन्धनले समानुपातिकतर्फ पनि उमेद्वार तय गरिसकेको जनाएको छ। हितराज पाण्डे र चुडामणि खड्का प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फ उमेद्वार बनेका छन्।

उम्मेदवारी दर्ता गर्दा बढीमा ५० जनाको समूह 
कात्तिक ५ गते निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेद्वारी दर्ता गर्नुपर्ने हुन्छ। मनोनयन दर्ता गराउँदा यसअघिका निर्वाचनका बेला हुलहुज्जत हुने गरेको, शक्ति प्रदर्शनसहित ¥याली हुने गरेको भन्दै गोरखाका राजनीतिक दलले उमेद्वारी दर्ता गराउन जाँदा सानो समूहका साथ जाने तयारी गरेका छन्।

मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत उपस्थित बैठकमा कांग्रेस सभापति हरिबहादुर घलेले सानो समूहका साथ उमेद्वारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेद्वारी दर्ता गर्न सबै दल सहमत भएको बताए।

घलेले भने, ‘उमेद्वारी दर्ता गर्ने बेला नारा, जुलुस गर्दै हिंड्नुको कुनै औचित्य छैन। यसले खर्च बढाउँछ भने सुरक्षा दिन प्रशासनलाई मुश्लिक पर्छ। त्यसैले बढीमा ५० जनाको समूह गएर उमेद्वारी दर्ता गरौं।’

निर्वाचन शान्तपूर्वक, भयरहित बनाउन राजनीतिक दलहरु प्रतिवद्ध छन्। बैठकमा सहभागी माओवादी केन्द्रका नेता लेखबहादुर थापाले गुम्दा, ताङ्लीचोकलगायत गाउँका बासिन्दालाई मतदान केन्द्रसम्म पुग्न असजिलो भएको गुनासो आएकाले सकेसम्म नजिकै मतदान केन्द्र स्थापना गर्न माग गरे ।



कमेन्टस



सम्बन्धित तस्विरहरु






Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1718948 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top