एमाले प्रवेश गर्दै सिलवालको मन्तव्यः लेनिनको भनाइबाट शुरु, लालसलाममा अन्त्य /* - - - Script for Auto Navigation - - - */

एमाले प्रवेश गर्दै सिलवालको मन्तव्यः लेनिनको भनाइबाट शुरु, लालसलाममा अन्त्य

काठमाडौं, असोज २०


डिआइजी पदबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रबार एमाले प्रवेश गरे। पार्टी प्रवेशका क्रममा सिलवालले भावुक मन्तव्य राखे। मन्तव्यको उनको भाषा कर्मकाण्डी थिएन बरु मिठासपूर्ण र दार्शनिक प्रकृतिको थियो।



सिलवालले आफ्नो मन्तव्य लेनिनको भनाइबाट शुरु गरे। लेनिनको भनाइमार्फत नै उनले आफू राजनीतिमा प्रवेश गर्नुको कारणबारे जवाफ दिए। ‘लेनिनको एउटा उक्ति छ, यदि तपाईँले राजनीतिलाई हस्तक्षेप गर्नुभएन भने राजनीतिले तपाईँको जीवनमा हस्तक्षेप गर्छ’, सिलवाल दार्शनिक सुनिए,‘मेरो जीवनमाथि पनि धेरै ठूलो राजनीति भयो।’

उनले आफूलाई सञ्चार माध्यम र सामाजिक सञ्जालबाट थुप्रै मान्छेहरुले राजनीतिमा प्रवेश गर्ने सम्बन्धमा प्रश्न सोधेको स्मरण गरे। उक्त प्रश्नबारे सिलवालले जवाफ दिए ‘म राजनीतिमा आउन प्रशिक्षित भएको व्यक्तिm थिइन बरु मुलुकप्रति जीवन समर्पण गरेको सिपाही थिएँ, तर मैले राजनीति नअङ्गाले आफ्नो अस्तित्वमाथि प्रश्न चिह्न खडा हुन्छ भनेर नै आज यहाँ उपस्थित छु।’

आफैंसंग तीन प्रश्न सोधें र एमाले रोजें
सिलवालले आफु एमालेमै प्रवेश गर्नुको कारणबारे पनि घुमाएर उत्तर दिए। ‘भनिन्छ मान्छेले आफ्नो जीवनको उत्तरार्धमा तीनवटा प्रश्न सोध्छ’, उनले भने,‘के मैले सहि अर्थमा जीवन बाँचे? के मैले जीवनलाई माया गरें? मेरो बाँच्नुको अर्थ रह्यो कि रहेन?’
यी प्रश्न गरिसकेपछि सिलवालले आफूले यी तीनवटै प्रश्न आफैंसंग सोधेर नै एमाले रोजेको प्रष्टिकरण दिए।

‘यी तीनवटै प्रश्नको जवाफ खोज्नेक्रममा मैले एमालेमात्र पाएँ’, उनले भने। अझ अघि बढेर सिलवालले अरु पार्टीमा देखाउनका लागिमात्र प्रजातन्त्र रहेको तर एमालेमा समाजवादको विश्लेषण गर्ने सामथ्र्य रहेको दावी गरे।
सिलवालले वाम गठबन्धनतर्फ लक्षित गरेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवैलाई धन्यवाद समेत दिए। ओलीलाई त उनले युगपुरुषकै संज्ञा दिए। ‘एमाले र माओवादी केन्द्रका अध्यक्ष बसेर गरेको निर्णय ऐतिहासिक घटना हो, उहाँहरु दुवैलाई धन्यवाद’, उनले भने।

आफूले राज्यको इमानदार सिपाहीका रुपमा काम गरेको भन्दै सिलवालले अब एमालेको इमानदार सिपाही बन्ने प्रतिबद्धता व्यक्त गरे।

अन्यायमा परेकाको पक्षमा आवाज उठाउँछु
उनले आफू अन्यायमा परेर राजनीतिमा आएको र अब अन्यायमा परेकाहरुको पक्षमा आवाज उठाउने घोषणा गरे। उनले अरु अन्यायमा परेकालाई समेत एमालेमा आउन अनुरोध गरे। ‘म यतिबेला अन्यायमा परेका लाखौं मान्छेको तर्फबाट एमालेमा उभिएको छु र ती लाखौं अन्यायमा परेकालाई संगै उभिएर एमालेमा प्रवेश गर्न आग्रह गर्छु’, उनले भने।

वैदेशीक रोजगारीमा गएका १८०० युवाका लासहरु वर्षेनी नेपाल फिर्ता आउने गरेको स्मरण गर्दै उनले अब देशमै केही गर्नुपर्ने बताए।

आफ्नो मन्तव्य सकाएर सिलवालले धन्यवाद भने। केहि एमाले कार्यकर्ताले हलबाट ‘लालसलाम’ भने। ड्यासबाट गइसकेका सिलवालले पुनः माइकमा पुगेर ‘लालसलाम’ भन्दै आफ्नो मन्तव्य अन्त्य गरे।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108365 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top