ती नक्कली ट्राफिक जसले अढाइ करोड लुटे, कहाँ पुगे? /* - - - Script for Auto Navigation - - - */

ती नक्कली ट्राफिक जसले अढाइ करोड लुटे, कहाँ पुगे?

काठमाडौं, भदौ २०


‘हामी अपराधीको नजिक नजिक पुगेका छौं, मात्र केही दिनमा अपराधीहरु प्रहरीको नियन्त्रमा आउँछन्’ अघिल्लै बर्ष तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल कैलाली पुगेर भनेका थिए, ‘अनुसन्धान सफल भइसकेको छ, तपाईँहरु यसको सत्यतथ्य जान्न प्रतीक्षा गर्नुहोला।’


प्रहरी प्रमुखले नै आश्वस्त तुल्याएपछि रहस्यमयी लुटकाण्डको पर्दाफास होला भन्ने आशा थियो। तर त्यस्तो भइदिएन। तत्कालिन आइजीपी अर्यालले गरेको दाबीको किस्सा अहिले पनि प्रहरी मूख्यालयका उच्च अधिकृतहरुबीच ‘गसिप’ बन्ने गरेको छ। त्यति मात्र होइन कैलाली प्रहरी र क्षेत्रीय प्रहरी कार्यालयको अगुवाई गर्न आउनेहरुका लागि यो विषय सधैं टाउको दुखाईको विषय बन्ने गरेको छ।

२०७० साल मंसिर २६ गते कैलालीको अत्तरिया चौकीडाँडा जंगलमा नबिल बैंकको अढाई करोड रुपैयाँ लुटिएको घटनाको छेउटुप्पो फेला नपार्दा प्रहरी प्रशासनलाई पीडित पक्षसँग अहिलेसम्म शिर झुकाइरहनु पर्ने अवस्था छ।

चार बर्ष भयो घटना घटेको। छानबिनका नाउँमा अनेक अनुक्रम नभएका पनि होइनन् तर यो बीचमा प्रहरीले असन्धानमा के कति प्रगति भयो? कहाँ पुगेको अनुसन्धान रोकियो? या किन र के कारणले अनुसन्धान जटिल भयो भन्ने केही खुलाउन सकेको छैन।

‘हामीले पुराना र अनुसन्धान नसकिएका घटनाहरुलाई प्राथमिकतामा राखेका छौं, अहिलेलाई यत्ति भनौं’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सम्हाल्न आइपुगेको पुष्कर कार्किले कुनै घटना विशेषका विषयमा भन्दा पनि एउटा मान्यता विशेषमा मात्र अहिले कुरा गर्न सकिने बताए। भने, ‘यो विषयमा पनि पक्कै केही सोधखोज होला नै।’

त्यतिबेला कैलालीको नबिल बैंक शाखाको दुई करोड ३० लाख ६० हजार रुपैयाँ र दुई सय अमेरिकी डलर लुटिएको थियो। लुटपाट पनि फिल्मी शैलीको थियो। कतिसम्म भने, ट्राफिक प्रहरीको भेषमा हतियार लिएर आएका लुटेराले बैंकका कर्मचारी चढेका म १ च १४६ नम्बरको गाडी रोकेर पैसा लुटेका थिए ।पैसा लुटिएपछि गाडी चालक वीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, अडिटर शुक्रराज भट्टराई र गार्ड गंगादत्त भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।

उनीहरुलाई थुनामा राखेर पटक पटक बयान लिए पनि प्रहरीले यो घटनाको जटिलता छिचोल्न सकेन। जिल्ला प्रहरी कार्यालय कैलाली घटनाको छेउछाउसम्म पनि पुग्न नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यो घटनाको अनुसन्धान गर्यो। सिआइबीको अनुसन्धानबारे पनि धेरै प्रश्न उठे।

‘प्रारम्भिक प्रमाण संकलन गर्न चुकेकाले घटनाको अनुसन्धानमा समस्या देखिएको हो’ सिआइबीको अनुसन्धानमा रहेर काम गरेका तत्कालिन एक प्रहरीले भने, ‘अनुसन्धानमा हाम्रा पनि केही कमिकमजोरी भए होलान्। कतिपय हिसावले साधन–स्रोत पुगेन होला। तर अहिले पनि त्यो घटनाको अनुसन्धान सम्बन्धित निकायले अगाडि बढाउँदा हुन्छ।’

घटना हुँदा क्षेत्रीय प्रहरी प्रमुख नारायणप्रसाद बास्ताकोटी थिए। त्यतिबेला बास्ताकोटीले ‘घटनाको चुरो पत्ता लगाएर नै छाड्ने र दोषीलाई कानुनको दायरामा ल्याउने’ दाबी गरेका थिए। त्यसपछि जयबहादुर चन्द, रामकुमार खनाल, माधव नेपाल, विजयकुमार भट्ट हुँदै रोमेन्द्रसिंह देउजासम्म भए। तर घटना अहिले पनि रहस्यमै छ।

विजयराज भट्ट क्षेत्रीय प्रहरी प्रमुख बनेर सुदुरपश्चिमको कमाण्ड सम्हाल्दा प्रहरीले यो घटनाको अनुसन्धानमा सफलता पाइसकेको र यसलाई सार्वजनिक गर्न मात्र बाँकी रहेको भनिएको थियो। तर त्यस्तो भएन। पछि उनै भट्ट मौन बन्दै गए। एकाएक देखिएको प्रहरीको मौनताले झन् घटनालाई रहस्यमयी बनायो।

सिआइबीमा नयाँ हाकीमको प्रवेशले त्यो मौनता तोड्ला? र, कानुनको दायरमा आउलान् ती लुटेराहरु?



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643173 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top